गिटी कुटेर गुजारा गर्दै गर्भवती

इलामः मेची राजमार्गको माइखोला राजदुवाली खण्डबाट दुई सय मिटर तल तारावीर पाँचकोटीकी बुहारी १९ बर्षीया संगीता पाँचकोटी निक्कै कष्टका साथ गिटी कुट्दै थिइन् । खोला बगरको चिसो सिरेटोमा गिटी कुटीरहेकी संगीता कुरा गर्न खोज्दा लजाइन् । पेटको बच्चा कति महिनाको भयो ? प्रश्न सुन्नासाथ मुसुक्क हाँसिन तर जवाफ दिइनन् ।
पढ्दा–पढ्दै विवाह गरेकी संगीता आठ महिनादेखि माई बगरमा गिटी कुटेर गुजारा चलाउदै आएको बताउँछिन् । तेह्रथुमबाट विवाह गरेर आएकी उनले दैनिक ६ घण्टा गिटी कुटेर बिताउने गरेकी छिन्।
माइतमा हुँदा कहिल्यै गिटी नकुटेकी संगीतालाई दिनहुँ गिटी कुट्दा निक्कै सकस पर्दछ । उनले भनिन्, ‘काम नगरी हुँदैन, दुःख पाएँ भनेर काम नगरे विकल्प छैन ।’
बिहान आठ बजेदेखि ११ बजेसम्म गिटी कुट्छिन् र दिउँसो एक बजेदेखि चार बजेसम्म गिटी कुटेपछि उनको दैनिकी सकिन्छ । सासु बुहारी मिलेर महिनामा चार ट्रकसम्म गिटी बनाउने गरेको उनले सुनाइन् । आराम गर्ने समयमा तपाईं गिटी कुट्नु हुन्छ ? प्रश्न सुन्नसाथ भनिन्, ‘हुन त हो तर खै !’
माइखोलाको बगरमा तारावीर पाँचकोटीले १९ बर्षदेखी गिटी कुटेर आफ्नो परिवारको गुजरा चलाउदै आएका छन् । परिवारका अन्य सदस्य सँगै बगरमा बसेर गिटी कुट्नु ,बलुवा खोज्नु उनको दैनिकी हो । गिटी र बलुवासँग दिनहु संघर्ष गर्दै पाँचकोटी परिवारले महिनाको ३० हजार कमाउने गरेको छ।
सुकुम्बासी भएकाले पनि बगरका गिटीसँग भिड्नु उनीहरुको बाध्यता हो । परिवारका अन्य सदस्य पनि उनी सँगै दिनहु माइखोलाको बगरमा गिटी कुट्छन् । आम्दानीको अन्य श्रोत नभएको र आफू सुकुम्बासी भएकोले यसरी गिटी कुट्नु वाध्यता रहेको तारावीरले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.