धुर्मुस-सुन्तली पुगेपछि मुसहर महिलाको दैनिकी फेरियो


बर्दिबास(महोत्तरी): बर्दिबास नगरपालिका-२ की ३५ वर्षीया सुनिता सदा बिहानै उठ्‌छिन्। शौचालय जान्छिन्। साबुन पानीले हात धुन्छिन्। कम्मरमा गाग्रो बोकेर धाराबाट पानी ल्याउँछिन्। खाना पकाउँछिन्। छोराछोरीलाई उठाउँछिन्।
हात मुख धोइदिएर बस्तीमा सञ्‍चालित बिहानी कक्षामा पुर्‍याउँछिन्। यति गर्दा बिहानको सात बजिसक्छ। बस्तीमा सिटी (हुस्सिल) बज्छ। हुसिलको आवाजले उनी हतारिन्छिन्। टाउकोमा तगारी, काँधमा साबेल बोकेर उदाउँदो सूर्यको किरणसँगै बस्ती निर्माण स्थलमा श्रमदान गर्न पुग्छिन्।
पुस्तौंदेखि गरिबीको चपेटामा परेकी सुनिताको घर धुर्मस सुन्तलीले बनाइरहेका छन्। पुस २५ देखि बस्ती निर्माण कार्य चलिरहेको छ। ६ दशकदेखि सुनिता जस्ता बर्दिबास मुसहरबस्तीका दुई सय ७० मुसहरु सहयोगी हातहरुको पर्खाइमा थिए।
एक बषअघि धर्मुस सुन्तली मुसहरबस्तीमा पसेपछि मुसहरको अनुहारमा खुसी छाएको छ। पराले झुपडीमा बस्दै आएका मुसहर थातथलो एकीकृत नमुना मुसहरबस्तीमा परिणत हुँदैछ।आफ्नो बस्ती बनाउन सुनिता मात्र होइनन्, बस्तीका ७० महिला एका बिहानै काममा जुट्छन्। बस्तीमा श्रमदान गर्ने कार्य सहभागी मध्ये ९५ प्रतिशत महिला दिदीबहिनी छन्।
महिलाहरु बस्ती निर्माण काममा आउँदा पुरुषहरुले घरको काम सघाउँछन्। छोराछोरीलाई खुवाई-पियाई स्कूल पठाउँछन्। मुसहरबस्तीमा पुरुषको तुलनमा महिलाको संख्या बढी छ। त्यसैले बस्ती निर्माणमा धेरै महिलाहरु नै सहभागी छन्। महिलाहरुको पाँखुराले बस्ती निर्माणको कार्य भइरहेको एकिकृत नमुना मुसहरबस्तीका उपभोक्ता समितिका अध्यक्ष मञ्जय सदाले बताए।

एक महिनामा ३३ प्रतिशत निर्माणको काम सकिएको छ।मधेशमा महिला दिदीबहिनी चुलोचोका र घाँसदाउरा मात्र सीमित भएको भनाइलाई मुसहरबस्तीकी परिश्रमी जाँगरिला महिला दिदीबहिनीहरुले तोडिदिएका छन्।यो पनि मधेसको परिवेशमा ठूलै उपलब्धिको रुपमा लिन सकिने अन्तर पार्टी महिला सञ्‍जाल बर्दिबासकी अध्यक्ष सारदा थापाले बताइन्।
'पहिले पनि दुःखै गरियो। तर अहिले गरेको दुःखले हाम्रो जीवन बन्दै छ, 'इट्टा ओसार्दै गरेकी सुनिताले भनिन्, 'पानी पर्दा घर चुहिन्थियो। घरको टाटी थिएन्। जाडोमा शितलहर घर भित्रै पस्थ्यो। कति दुःख भयो। अब घर बन्दैछ। हाम्रा सबै दुःखहरु भाग्दै छन्, हामी गरिबको पनि घर हुदैँछ।'
बिहानदेखी अबेर साँझसम्म चलने निर्माण काममा कोही सिमेन्ट बोक्छन्। कोही बालुवा, गिट्टी ओसारछन्। कोही मसाला फिट्छन्। कोही घर बनाउने मिस्त्रीलाई इट्टा र मसला पुर्‍याउँछन्।इट्टा, पानी जस्ता सबै समाग्री हामीलाई महिला दिदीबहिनीहरुकै हातले काम गर्ने ठाउँमा पुग्छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.