बलजफ्ती संविधान कार्यान्वयन गर्न खोजे परिणाम भयानक हुने उपेन्द्रको चेतावनी


कपिलवस्तु – संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदायलाई अधिकारबिहीन बनाएर बलपूर्वक संविधान कार्यान्वयन गर्न खोजिए परिणाम भयानक हुने चेतावनी दिएका छन् । 
अधिकार सम्पन्न बनाउन संविधान पुनर्लेखनको विकल्प नभएको दोहर्याउदै संविधान पुनर्लेखन नगरिए मधेशी तथा आदिवासी जनजाति समुदायले अस्वीकार गरिसकेको संविधान कुनै पनि हालतमा कार्यान्वयन हुन नसक्ने यादवले चेतावनी दिए ।
संघीय समाजवादी फोरम, कपिलवस्तुको प्रथम एकता अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले भने,– ‘मैले पटक पटक भनेको छु, संविधान पुनर्लेखनको विकल्प छैन । तर, प्रमुख तीन दल जनताको अधिकारसँग खेलाची गरिरहेका छन् । बलपूर्वक संविधान कार्यान्वयन गर्न खोजिए परिणाम भयानक हुन्छ ।’
संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले भने,– ‘हामीले सुरु देखिनै संविधान पुनर्लेखनको माग गरिरहेका छौं तर, सरकार गम्भीर देखिएन, मुलुक दुर्घटनामा फसे त्यसको जिम्मा तीन दल नै लिनु पर्छ ।’
मधेशी, आदिवासी जनजाति, थारु, महिला, मुस्लिम तथा दलितहरुको अधिकार सुनिश्चित गर्न संविधानका त्रुटि सच्याएर पुनर्लेखन गर्नुको विकल्प नभएको यादवले बताए ।
त्यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेक प्रताप शाहले खसवादीहरुको सिद्धान्तलाई आन्दोलन तथा बलकै भरमा परास्त पार्न सक्ने भएकोले आफ्नो अधिकार खोसेर लिने चेतावनी दिएका छन् ।
फोरम नेपालका केन्द्रीय सदस्य सहसराम यादव, इसरार अहमद खाँ, अब्दूल रसिद खाँ, दधिराम थारु लगायतकाले सम्बोधन गरेका थिए । फोरम नेपालका जिल्ला अध्यक्ष सतिशचन्द गुप्ताको अध्यक्षता तथा शैलेन्द्र कुमार यादवको संचालनमा भएको कार्यक्रममा हजारौँको जनसहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.