नयाँ शक्ति जिउँदो माछा : डा भट्टराई


हेटौँडा – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति जिउँदो माछा भएको बताएका छन् । मकवानपुर जिल्ला पार्टीको संगठन विभागले बुधबार हेटौंडामा गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अरु पार्टी मरेको माछा जुन पानीको बहावसँगै बग्ने र नयाँ शक्ति पार्टी जिउँदो माछा भएकोले पानी विपरित बग्ने बताएका हुन् ।
‘हामी नयाँ हुनुपर्‍यो, पुरानै कुरा गर्ने अनि नयाँ परिणाम खोज्ने पागलपन हामीले गर्नु हुँदैन’, संयोजक भट्टराईले भने । जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले पुँजी र श्रमलाई समान रुपले अघि लैजान सके आर्थिक समृद्धि हुने बताए ।
५ ‘स’का बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्दै भट्टराईले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउँदै लोकतन्त्रको व्यवस्थापन गरी आर्थिक विकास र समृद्धिको बाटो नै नयाँ शक्ति पार्टीको लक्ष्य रहेकोमा कार्यकर्तालाई स्पष्ट रहन आग्रह गरे ।
उनले पार्टीमा दुईपटक भन्दा बढी कोही कार्यकारी नरहने र ७० वर्ष कटेपछि कार्यकारी पदमा नरहने भन्दै युवाशक्तिलाई कार्यकारी पदमा लैजाने बताए । पार्टीको ६ महिने ‘घरघरमा नयाँ शक्ति अभियान’ अन्तर्गत ३ लाख भन्दा बढी पार्टी सदस्य बनाउने लक्ष्य रहेकोले त्यसमा लाग्न कार्यकर्तालाई नेता भट्टराईले निर्देशन दिए ।
भट्टराईले स्थानीय, प्रदेश र केन्द्र तीन तहकै निर्वाचन हुुनुपर्ने जिकिर गर्दै त्यसको लागि आवश्यक तयारीमा रहन समेत कार्यकर्तालाई निर्देशन दिए । उनले कार्यकर्तालाई हिमाल चढ्ने लक्ष्य लिएर कमसेकम नाम्चेबजार सम्म पुग्न सकिने भन्दै हौसला दिए ।
नयाँ शक्ति पार्टी, नेपाल केन्द्रीय सह–संयोजक रामचन्द्र झा, ३ नं प्रदेश संयोजक गंगानारायण श्रेष्ठ तथा हरिराम रिमालले प्रशिक्षण दिनुभएको कार्यक्रममा ३ नं प्रदेश सह–संयोजक सोनामसिं स्याङ्तान, केन्द्रीय कार्यकारी सदस्य सबिना अर्याल, अमर लामा, प्रल्हाद लामिछाने, विवेक वाइवा, जीवनमान मोक्तान, ज्योती रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
बुधबार नै भट्टराईले पत्रकार भेटघाट, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्वास्थ्यकर्मीको टोली र विद्यार्थीको टोलीसँग समेत छुट्टा छुट्टै भेटघाट गरेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.