विकासमा आधारित गतिशिल सम्वन्ध आवश्यक: राजदूत राय


रौतहट- भारतीय राजदूत रणजीत रायले नेपाल र भारतबीचको सम्बन्ध विकासको माध्यमले गतिशील बन्नुपर्ने बताएका छन्। रौतहटको पथरा बुधराममा आयोजित विद्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै रायले दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै युवाहरु विकासको स्रोत रहेको बताए।  
राजदूत रायले गौर र वीरगंजकोबीचमा एउटा भारतीय कस्टम र नेपाली भन्सारको आवश्यकता रहेको जनस्तरबाट आवाज उठिरहेकोले आयात–निर्यातको सम्भाव्यता र यातायातको आवागमन समेतको सम्भाव्यताको अध्ययन गरी पहल गर्ने बताए।  
रायले नेपालको शिक्षामा भारतले निरन्तर लगानी गरिरहेको बताएका छन्। देशमा सबैभन्दा बढी निरक्षरता प्रतिशत रहेको रौतहट लगायतका जिल्लामा साक्षरताको लागि आफूले सकेको योगदान दिने पनि रेले प्रष्ट पारे।
नेपालको कृषिको आधुनिकीकरणको लागि २ हजार सात सय ट्युबवेल जडान गरिएको र सिंचाइको क्षेत्रमा भारतले थप लगानी गरिरहेको उनले बताए।
कार्यक्रममा राजदूत रायले सांसद प्रभु साहको संसदीय विकास कोषको रकमबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को कक्षा ८ र ९ मा अध्ययनरत सम्पूर्ण छात्राको लागि किनेको साइकलमध्ये केही छात्रालाई साइकल हस्तान्तरण समेत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति एवं रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले मानव विकास सूचकांकमा देशको ७०औँ स्थानमा रहेको रौतहटलाई माथि उठाउन आफूले संकल्प लिएको धारणा राखे। विद्यालय र क्याम्पसको स्थापनाका साथै सक्ष्म शिक्षकको व्यवस्था, सडक यातायातको विकास, बिजुली र पानीको व्यवस्था, कृषिको आधुनिकीकरण र बजारीकरण लगायतको क्षेत्रमा आफ्नो ध्यान रहेको बताए।
 कार्यक्रमलाई सांसद अमरेशकुमार सिंहले सम्बोधन गर्दै मधेसलाई विकास र अधिकार दुवै क्षेत्रमा नेपालका ठूला दल तथा नेताहरुले विभेद गरिरहेकाले बताए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.