लोडसेडिङ अन्त्य गर्न भारतको सहयोग : राजदूत दीपकुमार उपाध्याय


नयाँदिल्लीः भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा लोडसेडिङ अन्त्य गर्नका लागि भारतको समेत सहयोग रहेको बताएका छन् ।
नेपाल-भारत सांस्कृतिक सम्बन्धबारे भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा उपाध्यायले भारतबाट आयातीत बिजुलीले नेपालमा लोडसेडिङ अन्त्य गर्न सहयोग पुर्‍याएको बताए । मुजफ्फरपुर-ढल्केबर प्रसारण लाइन निर्माणपछि समेत गरेर नेपालले भारतबाट लगभग ४ सय मेगावाट बिजुली आयात गरिरहेको छ । साथै थप १ सय २० मेगावाट आयात गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।
नेपालमा लोडसेडिङ अन्त्यका लागि आफूहरूले समेत योगदान गरेको तर नेपाल सरकारले त्यसलाई रिकोग्नाइज नगरेको भनी भारतीय पक्षले गुनासो गरिरहेका बेला उपाध्यायले सार्वजनिक कार्यक्रममा भारतबाट आयात गरिएको प्रसंग उल्लेख गरेका हुन् । उपाध्यायले व्यापारघाटा कम गर्न द्विपक्षीय संयन्त्रले नजिक रहेर काम गरिरहेको उल्लेख गरे । जुटमा लगाइएको क्यास भ्यालिङ ड्युटी, एन्टी डम्पिङ ड्युटी, मार्किङ समस्या, भर्खरै लागू गरिएको सेवा करलगायत विषय समाधानका लागि भारतीय पक्षले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान हेर्ने शाखाका प्रमुख एवं सहसचिव सुधाकर दलेलले पछिल्ला दिनमा उच्चस्तरको भ्रमण आदानप्रदान भएको र त्यसले दुई देशको सम्बन्धलाई सुदृढ बनाएको उल्लेख गरे । उनले नेपाल र भारतको सम्बन्धका कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध परिषद्का अध्यक्ष वीरेन्द्र गुप्ताले दुई देशको सम्बन्ध पारस्परिक हितमा केन्द्रित हुनुपर्ने बताए । नेपालले भारतको सुरक्षा चासोलाई सम्बोधन गर्नुपर्ने भन्दै उनले नेपालको विकासका लागि पनि भारतले सहयोग गर्नुपर्ने धारणा राखे । नेपालले भोगेका समस्या समाधान गर्न भारतले सकेसम्म छिटो निर्णय लिनुपर्ने उनको भनाइ थियो ।
अन्तर्राष्ट्रिय सहयोग परिषद्का महासचिव श्याम परान्डेले नेपालमा हुने गरेको धर्म परिवर्तनबारे चासो व्यक्त गरेका थिए । उनले नेपालमा आईएनजीओहरूको घुसपैठ रहेकाले त्यसमा ध्यान जान आवश्यक भएको बताए ।
संस्कृत विश्वविद्यालयका उपकुलप्रति प्राध्यापक कुलप्रसाद कोइरालाले नेपाल र भारत भाषा र संस्कृतिको हिसाबले एकै मुलुकजस्तो भएको समेत बताए ।
भारत सरकारनजिक रहेको अन्तर्राष्ट्रिय सहयोग परिषद्ले नेपालको नीति अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.