फोनबाटै बोलाएर स्वास्थ्य संस्थामा प्रसूति...


बैतडीः पाटन १ सकारकी माया भट्टराईको मोबाइलमा घन्टी बज्यो । उठाउनासाथ अनमी हेमा जोशीले भनिन्, ‘मायाजी, तपाईंलाई कस्तो छ ? तपाईंले अबको एक साताभित्रै बच्चा पाउनुहुन्छ । स्वास्थ्य संस्थामै आउनुस् है !' अनमी जोशीको सल्लाहपछि मायाले स्वास्थ्य संस्थामै गएर बच्चा जन्माइन् । ‘व्यथा लाग्नेबित्तिकै स्वास्थ्यचौकी गएँ । स्वास्थ्य संस्थामै बच्चा जन्माएँ', मायाले भनिन् ।
सकारकै लक्ष्मी विकले पनि यसै महिना बच्चा पाइन् । उनले स्वास्थ्य संस्थामा जाने खासै तयारी गरेकी थिइनन् तर बच्चा पाउने ८ दिनअघिदेखि नै स्वास्थ्यचौकीबाट उनलाई फोन आउन थाल्यो । ‘लक्ष्मीजी, तपाईंको बच्चा पाउने मिति नजिक आउँदैछ । स्वास्थ्य संस्थामै आएर बच्चा जन्माउनुहोस् है । तपाईंलाई पनि सजिलो हुन्छ, बच्चाको स्वास्थ्य पनि राम्रो हुन्छ', फोनमार्फत अहेव आस्था जोशीले भनिन् । ‘अहेव जोशीले भनेअनुसार नै व्यथा लाग्नेबित्तिकै स्वास्थ्य संस्थामै गएँ अनि उतै बच्चा पाएँ', लक्ष्मीले भनिन्, ‘मलाई पनि सजिलो भयो ।'
माया र लक्ष्मी स्वास्थ्य संस्थामा बच्चा पाउने महिलाका उदाहरण मात्रै हुन् । अहिले सकारका सबै गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा पाउने गरेका छन् । सकार स्वास्थ्यचौकीले पाटन नगरपालिकाको वडा नं १ र २ मा रहेका सबै गर्भवतीको तालिका बनाएर फोन नम्बरसमेत राखेको सकार स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्रराज भट्टराईले बताए । ‘सबै गर्भवतीको नाम र फोन नम्बरको सूची बनाएर राखेका छौं । उनीहरूलाई गर्भजाँच गराउनुपर्ने समय र सुत्केरी हुने समयभन्दा सात दिनअघि नै फोनमार्फत जानकारी दिने गरेका छौं । उनीहरूका नम्बर सबै स्वास्थ्यकर्मीले राखेका छन्', उनले भने ।
महिलाले घरमै बच्चा जन्माउँदा बालमृत्यदुर र मातृमृत्युदर नरोकिएपछि स्वास्थ्यचौकीले हेलो आमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडाहरूमा पनि निगरानी समूह बनाएर स्वास्थ्य संस्थामै बच्चा जन्माउन उत्प्रेरित गरिरहेको भट्टराईले बताए ।

 सबै गर्भवती आमाले स्वास्थ्यसंस्थामै बच्चा जन्माउन थालेपछि आइतबार एक कार्यक्रमका बीच सकारलाई पूर्ण संस्थागत क्षेत्रसमेत घोषणा गरिएको छ । स्वास्थ्य संस्थामै बच्चा जन्माउने कार्यलाई निरन्तरता दिनका लागि सबै नागरिकले प्रतिबद्धता जनाएका छन् ।सकारमा ‘हेलो आमा' कार्यक्रम सञ्चालनमा ल्याएपछि गएको एक वर्षयता कसैले पनि घरमा बच्चा जन्माएका छैनन् । ‘सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माएका छन् । नेपाल सरकारको प्रोटोकलअनुसार चारपटक जाँच गराएका छन् । टीडीखोप, आइरन चक्की, जुकाको औषधि पनि खाएका छन्', उनले भने ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.