पूर्व मुमाबडामहारानी रत्न शाहलाई यसरी दुःख दिदै छन...



काठमाडौं, ८ असोज । खानेपानीको पाइप लाइन काटिएपछि महेन्द्र मञ्जिलका लागि पानी व्यवस्थापन निकै खर्चिलो बन्न पुगेको छ । महसुल नतिरेको भन्दै तत्कालीन मुमाबडामहारानी रत्न शाहको निजी निवास महेन्द्र मञ्जिलमा खानेपानीको आपूर्ति आठ वर्षअघि काटिएको थियो । गोरखा पत्र दैनिकले समाचार छापेको छ । खानेपानीको पाइप लाइन पुनः सुचारु गर्न महेन्द्र मञ्जिलमा कार्यरत कर्मचारीले निकै दौडधुप गरे पनि प्रयास सफल हुन सकेको छैन । तत्कालीन मुमाबडामहारानी रत्न, उनका सुसारे तथा सुरक्षाकर्मीका लागि महेन्द्र मञ्जिलमा दैनिक १२ हजार लिटर पानी खपत हुँदै आएको छ । खानेपानी पाइप लाइन काटिएकाले तत्कालीन राजा वीरेन्द्रका पालामा किनिएको ट्याङ्करले दैनिक दुईपटक महाङ्कालबाट पानी ओसार्ने गरेको छ । रत्न शाहको रेखदेखमा खटिएका दरबारका पूर्वसचिव शम्भुप्रसाद अधिकारीले भने, ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई एक पटकमा ८२० रुपियाँ बुझाउनुपर्छ । दुई ट्याङ्कर पानी दैनिक चाहिन्छ ।’ ‘यसरी पानी ओसार्दा निकै समस्या भएपछि नेपाल सरकारका मुख्य सचिवसम्मलाई गुहार्‍यौँ तर उहाँहरूबाट टाउको नदुखाउनुहोस् भन्ने जवाफ पायौँ”, उनले भने । महेन्द्र मञ्जिलका लागि पानी खरिदमा मासिक ५० हजार रुपियाँ खर्च हुँदै आएको छ भने ट्याङ्करको इन्धन र मर्मत खर्च अतिरिक्त लाग्दै आएको छ । ट्याङ्कर पुरानो भएकाले बिग्रिएर धेरै दुःख दिने गरेको गुनासो गर्दै उहाँले डिजेल पनि धेरै खपत हुने गरेको बताए । तत्कालीन राजा वीरेन्द्र भएकै बेला नारायणहिटी दरबारमा खानेपानीको अभाव भएपछि इनार खन्नुपर्ने वा बोरिङ गर्नुपर्ने विषय त्यहाँका कर्मचारीले उठाएका थिए । तर, तत्कालीन राजा वीरेन्द्रले राजपरिवारमा इनार खन्ने चलन नभएको र बोरिङ गर्दा पानीको सतह घट्नसक्ने भएकाले पानी ओसार्नु नै उपयुक्त हुने भन्दै ट्याङ्कर किन्न आदेश दिएका थिए । सोही अनुसार २०५५ सालमा छ हजार लिटर क्षमताको पानी ट्याङ्कर किनिएको थियो । बा २ क ५६५१ नम्बरको सो ट्याङ्कर चालक उपलब्ध नभएकाले महेन्द्र मञ्जिलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका जवानलाई नै चालकका रूपमा प्रयोग गरिँदै आएको छ । ट्याङ्करको ब्लुबुकसमेत नवीकरण गरिएको छैन भने राजदरबार प्रमुख सचिवालयको नाममा दर्ता गरिएको छ । ‘नामसारी कसले गरिदिने ? नवीकरण कसले गरिदिने ? समस्या नै छ’, दरबारका पूर्व सचिव अधिकारीले भने । महेन्द्र मञ्जिलमा रहेका टेलिफोन लाइन पनि काटिएका थिए । पछि ६० हजार रुपियाँ तिरेपछि नारायणहिटी दरबार र नारायणहिटी सचिवालयका नाममा रहेका दुई लाइन टेलिफोन सुचारु भएका छन् । हाल ती दुवै टेलिफोन लाइनको खर्च महेन्द्र मञ्जिलले नै बेहोर्दै आएको छ । महेन्द्र मञ्जिलमा रहेको कार्यालयका लागि पूर्व सचिव अधिकारीले आफ्नो नामको र इन्टरनेट सञ्चालन गर्न अर्का एक कर्मचारीको टेलिफोन पनि जडान गरिएको छ । महेन्द्र मञ्जिलमा कार्यरत सुसारेहरूका अनुसार रत्न शाहले भारतमा रहेका नन्द तथा भान्जाभान्जीलाई फोन गर्ने गरेकी छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.