मिर्गौला परीक्षण अब स्वास्थ्य चौकीमै



काठमाडौं: सरकारले मिर्गौला जाँचका लागि आवश्यक सुविधा र उपकरण चौकीहरू उपलब्ध गराउने भएको छ । यो सुविधा उपलब्ध भएपछि लामो यात्रा तय गर्दै जिल्ला अस्पताल वा काठमाडौं धाउनुपर्ने बाध्यताबाट बिरामीले मुक्ति पाउनेछन् । नेपालमा अस्वस्थकर खानपान र विभिन्न रोगका कारण मिर्गौलाको समस्याबाट ग्रसित हुनेको संख्या बढ्दोछ । स्वास्थ्य मन्त्रालयका अनुसार मिर्गौला परीक्षणमा प्रयोग हुने 'डिपिस्टिक कीट' मनाङबाहेकका सबै जिल्लामा पठाइसकिएको छ । उक्त कीटका कारण स्थानीय तहमै मिर्गौला परीक्षण गर्न पाइने भएको हो । मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशैभर पहिलो चरणमा २० लाखजनाको मिर्गौला परीक्षण गर्न पुग्ने गरी कीट पठाएको छ । महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीले भौगोलिक विकटताका कारण मनाङमा तत्कालै कीट पठाउन नसकिएको बताए । सरकारले सबै जिल्लामा उक्त कीटको व्यवस्था चार महिनाअघि नै गर्ने घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । स्वास्थ्यमन्त्री गगन थापाको निर्देशनपछि महाशाखाले जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अञ्चल अस्पताल, उपक्षेत्रीय अस्पताल र क्षेत्रीय अस्पताल गरी एक सय ३३ वटा स्वास्थ्य संस्थामा पुग्ने गरी कीट पठाएको छ । त्यहाँबाट कीटलाई छिट्टै स्थानीय आवश्यकताअनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाइनेछ । चिकित्सका अनुसार २० मिलिलिटर जति पिसाबले कीट भिजाएपछि देखिने कीटको रङका आधारमा मिर्गौलाको अवस्था थाहा हुने गर्छ । परीक्षण गर्दा कुनै समस्या नभएको देखिएमा एक वर्षपछि फेरि परीक्षण गर्न आउन आग्रह गरिने र समस्या देखिएमा उपचारका लागि आग्रह गरिने पनि उनले बताए । मन्त्रालयले यसै वर्ष विद्यालयमा स्वास्थ्यकर्मीसहित कीट पठाएर विद्यार्थीको मिर्गौला परीक्षण गर्ने तयारी गरेको छ । कमजोरी महसुस हुनु, काममा ध्यान नजानु, खानामा अरुचि हुनु, निदाउन नसक्नु, राति खुट्टाको मासु गल्नु र फर्किनु, गोडा सुन्निनु, बिहान आँखावरिपरि सुन्निनु, छाला सुक्खा हुनु, चिलाउनु, राति बढी पिसाब लाग्नु, रक्तअल्पता र महिनाबारीमा अनियमितता हुनुलगायत मिर्गौला रोगका लक्षण हुन् । पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनिन जाँच गर्दा पनि मिर्गौलाको स्थितिबारे थाहा पाउन सकिन्छ । वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. राजेन्द्र अग्रवालका अनुसार मधुमेह, उच्च रक्तचाप, मुटु र कलेजो बिग्रेको अवस्थामा पनि मिर्गौलामा असर पुग्छ । त्यस्तै मिर्गौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता कारणले मिर्गौला बिग्रिन सक्छ । मिर्गौला रोगबाट बच्न नियमित व्यायाम गर्न, प्रोटिनयुक्त खाना कम गर्न, नियमित जाँच गर्न, पर्याप्त पानी पिउन चिकित्सकले सुझाव दिएका छन् । नेपालमा करिब ३० लाख मानिस कुनै न कुनै मिर्गौला रोगबाट पीडित भएको अनुमान छ । मिर्गौला रोगले थलिएर अन्तिम अवस्थामा अस्पताल पुग्नेको संख्या करिब ३ हजार छ । डेंगु परीक्षणका लागि विदेशबाट कीट डेंगुको परीक्षणका लागि सरकारले विदेशबाट कीट ल्याएको छ । कीट अभावमा जिल्लामा रोग परीक्षणमा कठिनाइ भएपछि स्वास्थ्य मन्त्रालयले बिहीबार भारतबाट कीट झिकाई चितवन र झापामा पठाएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यका अनुसार भारतबाट ल्याइएका नौ सय कीटमध्ये चार सयवटा चितवन र दुई सयवटा झापा पठाइएको छ । दमक अस्पताललाई थप दुई सयवटा कीट आम्दा अस्पतालले दिने भएको छ । आपत्कालका लागि भन्दै तीन सयवटा कीट स्टकमा राखिएको छ । उनले करिब छ सय कीट शुक्रबार अमेरिकाबाट पनि आउन लागेको बताए । बुधबार झापामा २२ जना र बिहीबार ४ जनामा डेंगुको संक्रमण देखिएको छ । यस वर्ष डेंगुबाट संक्रमित हुनेको संख्या पाँच सय २५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले डेंगु प्रभावित क्षेत्रमा चाडपर्वको बेलामा पनि चौबीसै घन्टा सेवा दिन मातहतका निकायलाई निर्देशन दिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.