काठमाण्डुमा बुल्गेरियाली नागरिकले यसरी चोर्दा रहेछन् अरुको बैंक खाताको पैसा !

काठमाण्डु, १२ कात्तिक-नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
डिमो एटान्सोभ स्टेफनोभ नामका ३८ वर्षीय उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले बिहीबार ठमेलबाट पक्राउ गरेको हो ।
उनले एटिएम बुथमा प्रवेश गरी त्यहाँ गोप्य रुपमा सानो आकारको क्यामेरा फिट गरी ग्राहकले हानेको पिन कोड नम्बर पत्ता लगाई पुनःबुथमा गई रकम निकाल्ने नयाँशैलीको प्रयोग गर्ने गरेको ब्युरोका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले जानकारी दिए ।
उनको साथबाट २८ थान नक्कली एटिएम कार्ड र १७ हजार अमेरिकी डलर बरामद भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएमबाट अन्य ग्राहकको रकम निकालेको भेटिएपछि उनको खोजी सुरु भएको थियो ।
बैंकका उपनिर्देशक विजेन्द्र सुवालले आफूले रकम ननिकाले पनि रकम निस्किएको एसएमएस आएको भन्दै ग्राहकले गुनासो गरेपछि बैंकले अनुसन्धान सुरु गरेको र प्रहरीलाई जानकारी गराएको बताए ।
बैंकको ‘सिसिटिभी फुटेज’ को आधारमा उनको खोजी अगाडि बढाएको थियो । सोही क्रममा ठमेलको हिमालय बैंकबाट रकम निकाल्ने क्रममा ब्युरोको प्रहरी टोलीले स्टेफनोभलाई पक्राउ गरेको हो ।
एक अस्टेलियन नागरिकले नेपालमा एटिएमबाट रकम निकाल्न खोज्दा एटिएम अड्किएकोमा उनको खाताको ६ हजार डलर रकम बुल्गेरियाबाट निकालिएको घटनामा समेत स्टेफनोभकै संलग्नता देखिएको छ ।
उनी गत असोज २२ गते नेपाल आई ठमेलस्थित एक होटलमा बस्दै आएको ब्युरोले जनाएको छ । ब्युरोका प्रमुख सिलवालले एटिएम कार्डको पिनकोड समयसमयमा परिवर्तन गर्न र अरुले नदेख्ने गरी मात्रै कोड हान्न सुझाव दिए ।
उनलाई बैकिंङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही बढाएको तथा सो ऐनबमोजिम बढीमा पाँच वर्ष कैद, बिगो भराउने तथा बिगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।
ब्युरोले यसअघि २०७१ मङ्सिर १ गते टर्किस नागरिक, सोही वर्ष चैत ५ गते बुल्गेरियाली नागरिक र गत साउन १७ गते रोमानियाली नागरिकलाई नक्कली एटिएमको प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.