भारतले नेपाली सेनालाई हेप्नुमा प्रचण्ड दोषी देखिए, यस्तो छ सेनाको खुलासा



काठमाडौँ, १० पुस । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरूलाई आफ्नो सेना मातहत परिचालन गर्न ‘राजनीतिक लबिइङ’ गर्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै दोषी देखिएका छन् । यसपटक प्रधानमन्त्री हुनासाथ भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गरेको एउटा सहमतिको बुँदालाई टेकेर भारतले शान्ति सेनाको प्रसंग उठाएको नेपाली सेनाको उच्च स्रोतले बतायो । स्रोतका अनुसार, अन्तर्राष्ट्रिय फोरमहरुमा प्रस्तुत हुनुपर्दा नेपाल र भारतबीच एउटै धारणा बनाएर अघि बढ्ने सहमति भएको थियो । जसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमति गरेका थिए । सोही सम्झौतालाई टेकेर भारतले नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव अघि बढाएको हो । गत भदौको अन्तिममा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्केका थिए । त्यसक्रममा भएको सम्झौतामा नेपालले अन्तराष्ट्रिय मञ्चमा भारतलाई निःसर्त सहयोग गर्ने उल्लेख थियो । ‘दुबै मुलुकले सल्लाह गरेर अन्तराष्ट्रिय मञ्चमा साझा धारणा राख्ने भनिएको छ । संयुक्त वक्तव्यका यी बुँदाहरु नेपालको आत्मगौरव प्रतिकुल थिए ।’, सेना स्रोतले भन्यो, ‘त्यो सहमतिको खास कारण अहिले खुल्न थालेको छ ।’ प्रचण्ड भारत भ्रमणबाट फर्केको एक महिनामै नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले पनि उक्त विषय अप्रत्यक्ष ढंगबाट उठाएका थिए । उनी कात्तिक २६ देखि २८ सम्म नेपाल भ्रमणमा आएका थिए । तर, त्यतिबेला नेपाली सेनाले त्यति गम्भीर रुपमा लिएको थिएन । तर, पछिल्लो पटक भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै अनौपचारिक प्रस्ताव अघि बढाए पनि नेपाली सेनाका उच्च अधिकारीहरु यसको विपक्षमा छन् । नेपाली सेनाको उच्च अधिकारीहरुले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न सरकार र शीर्ष नेताहरुलाई अनुरोध गरिसकेका छन्। नेपाली सेना विश्वभरि नै शान्ति स्थापनामा उत्कृष्ट मानिन्छ । नेपाली सेनाले सन् १९५८ बाट शान्ति सेनामा सहभागिता जनाएको हो । सेनाको टोली पहिलोपटक लेबनानमा पुगेको थियो । शान्ति सेनामा नेपाल, भारत, बगंलादेश र पाकिस्तान अग्रणी भूमिकामा छन् । पछिल्लोपटक भुटानले पनि शान्ति सेनामा जाने इच्छा देखाएको छ भने तामिल विद्रोहीको अन्त्यपछि श्रीलंका पनि शान्ति सेनामा जाँदैछ । दक्षिण एसियाकै वर्चश्व रहेकाले भारतले नेतृत्व लिन खोजेको हो । सुरुमा नेपाली सेनालाई आफू मातहतमा ल्याउन सके दक्षिण एसियाका अन्य देशका शान्ति सैनिकलाई पनि मातहतमा राख्न सकिने भारतको विश्वास छ । ‘पाकिस्तान र बंगलादेशले सजिलै मान्ने अबस्था छैन्, त्यसैले भारतले नेपालबाट आफ्नो अभिष्ट पूरा गर्न खोजेको हो ।’– नेपाली सेनाको उच्च स्रोतले भन्या । भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल)मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सार्दै आएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.