पूर्वराजा ज्ञानेन्द्रले निहुँ खोजे सरकारले नियन्त्रणमा लिन्छः पुन


घोराहीः नेकपा माओवादीका नेता वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहले बाह्य शक्तिको आडमा चलखेल गर्न खोजेको आरोप लगाएका छन्। उनले गणतन्त्र र संघीयताविरुद्ध षड्यन्त्र गर्न खोजे सरकारले पूर्व राजा ज्ञानेन्द्रलाई नियन्त्रणमा लिने चेतावानीसमेत दिए। आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खोजेको बताए। ‘पूर्वराजा ज्ञानेन्द्रले चीन र भारतका नेताहरुसंग भेटघाट गरेर आफ्नो स्पेस बनाइदिन विन्ती गर्ने गरेको सुचना आएको छ, यो गलत हो,‘उनले भने,‘पछिल्लो पटक वक्तव्य जारी गरेर ज्ञानेन्द्रले विवादमा आउने काम गरे।’ उनले पूर्वराजा ज्ञानेन्द्रलाई बोल्न र लेख्न पाउने अधिकार अन्य नागरिकलाई झै भएपनि गणतन्त्र र संघीयतालाई नै चुनौती दिने गरी आए सरकारले नियन्त्रणमा लिने बताए। दरबार हत्याकाण्डको छानविन गर्नुपर्ने जनताको माग रहेकाले सरकारले प्रस्ताव ल्याएर छानविनलाई अघि बढाउनुपर्ने उनको भनाई छ। फरक प्रसंगमा नेता पुनले प्रदेश विभाजनविरुद्ध एमालेले बुटवलमा गरिरहेको आन्दोलन प्रादेशिक राजधानीका लागि भएको टिप्पणी गरे। सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा भएको सीमांकन अनुसार दाङ राजधानी बन्ने भएपछि एमालेले बुटवलमा आन्दोलन गरिरहेको आरोप लगाए। उनले दाङ थारुहरुको आदिभूमि भएकाले यसलाई नै प्रादेशिक केन्द्र बनाउन आफूहरु लागिपरेको बताए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.