अञ्जु पन्त भन्छिन क्रिस्चियन बनेको आरोपमा मलाई पेस्तोल ताकियो



म सानैदेखि भगवानको खोजीमा थिएँ । सानैदेखि नै भजन गाउने, व्रत बस्ने मेरो बानी थियो । व्रत बस्दा कतिपटक त म बेहोश पनि भएकी छु । लगभग ६ हजारभन्दा बढी गीत गाउँदा मैले गीत त गाउथें तर बिस्तारै मलाई थुप्रै रोगहरूले च्याप्दै गए । घाँटी दुखेर लामो समयसम्म त मैले गीत पनि गाउन सकिनँ । आफूले गीत गाउन नसक्ने स्थिति आएको बेलामा पनि केही गायक साथीहरूले त मलाई वर्षौंसम्म पनि स्वरका लागि पर्खने गर्नुहुन्थ्यो । मलाई भने धेरै रोगले च्यापिसकेका थिए । मलाई रोगले च्याप्दै गएको थियो । घाँटीमा समस्या आएर बोल्न नमिल्ने, घाँटी सुक्ने, आँखा दुख्ने, मृगौलामा समस्या, पैताला तथा ज्यान दुख्ने, माइग्रेन भएर टाउको फुट्ला झैं हुने भएको थियो । उपचारका लागि म अमेरिकासम्म गएँ । डाक्टरले गीत नगाउन सल्लाह दिनुभयो । म इसाई धर्म मान्न थालेपछि बिस्तारै निको हुँदै गएँ । अहिले त मैले सबै रोगबाट मुक्ति पाइसकें । प्रभुलाई हामीले चिन्न नसकेका रहेछौं । म मात्र होइन, अहिले म लगायत सबै परिवार इसाई धर्ममा हुनुहुन्छ । हामी सबै खुशी छौं । सत्य कुरालाई बुट्टा भरेर बेच्नुपर्छ भन्ने मलाई लाग्दैन । मैले हिजोसम्म प्रभुलाई नचिनेर केही नगरेकी रहेछु । अहिले मलाई प्रभु नै सारा सृष्टि लाग्छ । अहिले पनि मलाई कतिपय श्रोता दर्शकले धर्म परिवर्तन गरेकी भनेर विरोध गर्नुहुन्छ । यतिसम्म कि, पेस्तोल राखेर धम्की समेत दिइयो मलाई । फेसबूक तथा अन्य सामाजिक सञ्जालमा थुप्रै नकारात्मक प्रतिक्रिया दिनुहुन्छ उहाँहरूले । यस्ता प्रतिक्रियाले मलाई किञ्चित् दुःख लाग्दैन किनकि उहाँहरूले वास्तविकता नै बुझ्नुभएको छैन । कतिपय दर्शकले मैले दशैं तथा तिहार जस्ता चाड मनाउन छोडेकामा गाली गलौज गर्नुहुन्छ तर इसाई धर्ममा पनि आफ्ना नियम रहेछन् । प्रभुको भक्तले यस्ता कुरालाई स्वीकार गर्नैैपर्छ । क्रिसमसको अर्थ येशुमा विश्वास गरेपछि मुक्ति पाइन्छ भन्ने रहेछ । त्यही मुक्ति पाउनका लागि त हामी येशुको शरणमा पुग्नुपरेको छ । मलाई पनि केही वर्ष पहिलेसम्म ‘क्रिसमस डे’ को महत्व थाहा थिएन । दर्शकका डरलाग्दा आरोप र गालीले मलाई हतोत्साही बनाएको थियो केही समय । मैले प्रभुसँग दिनरात रुँदै मेरो हृदय परिवर्तन गर्न आग्रह गर्थें । अहिले भने मलाई आरोप केही जस्तो पनि लाग्दैन । कतिपयले त मलाई क्रिस्चियन धर्मको पैसा खाएर प्रचारमा लागेको पनि भन्नुहुन्छ । हामीले केको पैसा खाने नि ? बरू हामीले त प्रभुका लागि पैसा दिन्छौं । अरू धर्मका बारेमा मैले बोल्न त त्यति जरूरी छैन तर हामीलाई कुन धर्म मान्ने र कुन धर्म नमान्ने भन्ने नैसर्गिक अधिकार छ । मैले इसाई धर्म मान्दा जुन खालको सन्तुष्टि पाएकी छु, त्यो हिन्दू धर्मालम्बी हुँदा थिएन । हामीले मान्ने केही चाडहरू ठीक नहुन सक्छ । यो हामी आफैंले मूल्यांकन गर्ने कुरा हो । होली खेल्दा रंग लगाएर के फाइदा ? एकातिर एलर्जी हुने डर । अर्कातिर कसले विनाकारण लोलाले हान्छन् कि भन्ने डर ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.