भक्तपुरमा भेटियो विद्युत् चोर्ने नयाँ शैली



भक्तपुर, सामान्यतया कसैले पत्ता लगाउन नसक्ने विशेष प्रकारको विद्युत् चुहावट भक्तपुरमा हुने गरेको पत्ता लागेको छ । विद्युत्को खपत मापन गर्ने मिटरभित्रै तार घुसाएर (मिटरमा इन्टरनल लुक)विशेष प्रकारले भक्तपुरमा विद्युत् चुहावट हुने गरेको पत्ता लागेको हो । भक्तपुरमा देशको कुनै पनि ठाउँमा फेला नपरेको विशेष प्रकारको चुहावट पहिलोपटक फेला परेको प्राधिकरणले जनाएको छ । यस्तो चोरी विद्युत् प्राधिकरणका कर्मचारीबाहेक कसैले पनि पत्ता लगाउन सक्दैनन् । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावटविरुद्ध थालेको अभियानका क्रममा लामो समयको अध्ययनपछि विशेष प्रकारबाट विद्युत् चुहावट हुने गरेको फेला पारेको हो । कार्यालय प्रमुख विक्रम अमात्यका अनुसार हुकिङ राखेर विद्युत् चुहावट हुने गरेको यसअघि फेला परे पनि प्राधिकरणका प्राविधिकको विशेष अनुसन्धानबाट फरक खालको विद्युत् चुहावट फेला पारेको हो । यस्तो चोरी स्थानीय बिजुलीको काम गर्ने व्यक्तिको मिलेमतोमा मात्र सम्भव हुने गरेको पाइएको छ । बाहिरबाट मिटर हेर्दा सब ठीक देखिन्छ, मिटर चेकजाँच गर्दा भित्र लुक अर्थात् सिल बालेर विद्युत् खपत कम गराउने गरी पेसेवर व्यक्तिबाट यस्तो कार्य हुने गरेको पाइएको हो । त्यस्ता पेसेवर व्यक्तिले एउटा मिटर जोडेबापत कम्तीमा २ हजार लिने गरेको खुल्न आएको छ । मिटरमा खपत घटाउने खालको यस्तो चोरी प्राधिकरणले विभिन्न ठाउँमा खपत क्षमतालाई आधार बनाएर पत्ता लगाएको जनाएको छ । प्राधिकरणका इन्जिनियर अनिल अधिकारीकाअनुसार पेसेवर त्यस्ता व्यक्तिहरूले मिटर राख्ने कोठामा कसैलाई पनि पस्न नदिने र अन्धकार कोठामा गएर मिटरमा तार घुसाएर खपत घटाउने कार्य गर्ने गरेको समातिएका ग्राहकबाट सूचना प्राप्त भएको उनले बताए । उनीहरूले अरूले त्यस्तो कार्य सिक्ने डरले एक्लै बन्द अन्धकार कोठामा लाइट बालेर त्यस्तो गैरकानुनी कार्य गर्ने गरेका पाइएको ई अधिकारीले बताए । सबैभन्दा बढी विद्युत् खपत हुने ठाउँका केही व्यक्तिको घरको विद्युत् मिटर चेकजाँच गरी अनुसन्धान गर्दा यस्तो विशेष प्रकारको चोरी पत्ता लगाइएको उनले बताए । भक्तपुरमा यस्तो पेसेवर गिरोह नै सक्रिय रहेको पाइएको छ । उनीहरूले विभिन्न ठाउँमा गएर दैनिक दर्जनौं मिटर बिगारी आम्दानी गर्ने गरेको ई अधिकारीले बताए । अन्य चोरीको तुलनामा मिटरमा तार घुसाएर गरिने चोरी राज्यका लागि व्यापक क्षति हुने गरेको छ । प्राधिकरणले विद्युत् खपत हुने केही ठाउँको नमुनाका रूपमा मासिक विद्युत् महसुललाई आधार बनाएर लामो अनुसन्धानबाट मात्र पत्ता लगाएको जनाएको छ । मासिक लाखौंको विद्युत् खपत गर्ने गरे पनि त्यस्ता ग्राहकले मासिक ८० रुपैयाँभन्दा बढी महसुल बुझाउने गरेका छैनन् । यसको एउटै कारण मिटरमा तार घुसाएर खपत कम गरेकै कारण भएको ई अधिकारीले बताए । त्यस्ता ग्राहकहरूको सूची तयार पारेर प्राधिकरणले प्रहरीको सहयोगमा छापा मार्ने र चुवाहटविरुद्धको अभियान थप सशक्त बनाएको छ । प्राधिकरणले सुरुमा ग्राहकलाई जनचेतना, दोस्रो चरणमा पर्चा पम्पलेट र तेस्रो चरणमा विभिन्न विद्यालयमा जनचेतनासम्बन्धी कक्षा सञ्चालन गरेर अभियान थालेको थियो । प्रचार–प्रसारको अभियान सम्पन्न गरेसँगै अत्यधिक चुहावट हुने क्षेत्र छानेर विभिन्न रणनीति बनाउँदै ग्राहकको नामावली तयार पारेको थियो । त्यसपछि ग्राहकको सूचीअनुसार विद्युत् चुहावटविरुद्ध अपरेसन थालेको प्राधिकरणले चाँगुनारायण र नगरकोट नगरपािलकामा तीनवटा ट्रान्सफरमरबाट करिब ३ सय घरधुरीले खुलेआम हुकिङ प्रयोग गरेर विद्युत् चुहावट गरेको फेला पारी उनीहरूलाई कारबाही गरेको थियो । कार्यालयले विद्युत् लाइन नै काटेर अन्धकार बनाएपछि स्थानीय विभिन्न संघ संस्था, नागरिक समाज डेलिकेसन आएपछि मिटरका कारण बाध्यताले विद्युत् चुहावट गरेको भन्दै कानुनी दायरामा आउने प्रतिबद्धता जनाएपछि पुर्जा नभएकालाई पनि १० हजार धरौटी राख्न लगाएर ५० वटा मिटर तुरुन्त वितरण गरिएको थियो । त्यस्तै, अभियानका क्रममा कार्यालयले लिवाली, आदर्श आजाद, राजमार्ग आसपास क्षेत्रमा छापा मारेर ४ जनालाई प्रक्राउ गरेकोे थियो । प्राधिकरणले कार्यालयको काममा बाधा नपुग्ने गरी हप्तामा तीनपटक छड्के अनुमगन गरिरहेको छ । बिहीबार मात्र विभिन्न ठाउँमा छापा मारेर दर्जनांै मिटर जफत गरिएको कार्यालयले जनाएको छ । विद्युत् चुहावट कारखाना, स्कुल, सहकारी, खानेपानी समिति, डिपबोरिङ, सांस्कृतिक सम्पदा, मठ–मन्दिरमा पनि बढी हुने गरेको पाइएको छ । प्राधिकरणका अनुसार भक्तपुरमा सानातिना व्यक्तिहरूबाट भन्दा ठूलाठूला सम्पन्न व्यक्तिहरूबाटै विद्युत् चुहावट हुने गरेको छ ।

चुहावटबाट ३२ लाख असुली 
विद्युत् चुहावट अभियान थालेको प्राधिकरणले चालू आर्थिक वर्षको पुससम्ममा विद्युत् चुहावटबापत करिब ३२ लाख जरिवाना असुलउपर गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्म १ लाख ५० हजार ७ सय ८९ युनिट विद्युत् चुहावटबाट ३१ लाख ८४ हजार ९ सय ६३ रुपैयाँ असुलउपर भएको हो । कार्यालयका लेखाअधिकृत घनश्याम श्रेष्ठका अनुसार कम्तीमा ५० हजारदेखि बढीमा एकै व्यक्तिलाई १ लाख ६० हजार रुपैयाँसम्म जरिवाना तिराइएको छ । कार्यालयका अनुसार अहिलेसम्म १ सय ५ जना कारबाहीमा परिसकेका छन् ।

  विद्युत् चुहावट ५ प्रतिशत घट्यो 
अघिल्लो आर्थिक वर्षसम्म ४० प्रतिशतभन्दा माथि विद्युत् चुहावट हुँदै आएको भक्तपुरमा हाल चुहावट नियन्त्रण अभियान थालेपछि ५ प्रतिशत घटेर ३५ प्रतिशमा झरेकोे छ । प्राधिकरण भक्तपुर शाखालाई केन्द्रबाट यो वर्षसम्म ३० प्रतिशतमा विद्युत् चुहावट झार्न निर्देशन दिइएकाले कार्यालयले कुनै हालतमा यो अभियान सफल बनाउनुपर्ने भएपछि चुहावट भेटिएमा कुनै पनि किसिमको संवेदनशीलता नपाइने रणनीति अख्तियारी गरी छड्के अनुगमन गरेर छापा मार्ने कार्यलाई कडाइ बनाइरहेको छ । भक्तपुरमा धेरैजसो ब्रिक फिडरमा विद्युत् चोरी हुने गरेको उनले बताए । भक्तपुरमा नगरकोट, सल्लाघारी, नलिञ्चोक फिडरमा भने अन्यको तुलनामा चुहावट घट्दै गइरहेको छ । लोडसेडिङका बेला पिक समयमा १७ मेगावट विद्युत्को माग हुँदै आएको भक्तपुरमा हाल भने लोडसेडिङमुक्त भएपछि १० मेगावाटको माग हुने गरेको छ ।

  विद्युत् महसुल अहिलेसम्मकै उच्च
 नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले अहिलेसम्मकै सबैभन्दा बढी विद्युत् महसुलबाट आम्दानी गर्न सफल भएको जनाएको छ । चालू आर्थिक वर्षका हरेक महिनामा विगतका वर्षभन्दा महसुल उच्च दरमा बढिरहेको जनाएको हो । लेखाअधिकृत श्रेष्ठका अनुसार अहिलेसम्म भक्तपुर शाखाले ४ करोड ५६ लाख रुपैयाँ आम्दानी गरिसकेको छ । चालू आर्थिक वर्षको साउन महिनामा २ करोड ३२ लाख, भदौ महिनामा २ करोड २१ लाख, असोज महिनामा ३ करोड ६१ लाख ६४ हजार ५ सय ९९, कात्तिक महिनामा २ करोड ५० लाख, मंसिर महिनामा ४ करोड ८० लाख र पुसको आधा महिनासम्म २ करोड ९२ लाख ३ हजार ५७ रुपैयाँ विद्युत् महसुलबाट आम्दानी भएको छ । यो आम्दानी अघिल्लो वर्षका महिनाको तुलनामा ५०औं लाखले बढी हुन आउने कार्यालयको भनाइ छ । मंसिर महिनामा मात्र अघिल्लो वर्षको महिनाको तुलनामा ८० लाख बढी विद्युत् महसुलबाट आम्दानी भएको अधिकृत श्रेष्ठले बताए । भक्तपुरमा ३२ हजार ५ सय ८४ ग्राहक रहेका छन्, जसका लागि विद्युत् प्राधिकरणबाट २ सय ५६ र निजीबाट १ सय १४ गरी ३ सय ७० वटा ट्रान्सफरमर रहेको कार्यालयको भनाइ छ ।

 १७ करोड २१ लाख बक्यौता
नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् महसुलबाट १७ करोड २१ लाख रुपैयाँ असुल उपर गर्न बाँकी रहेको जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी बक्यौता भक्तपुर नगरपालिकाको छ । नगरपालिकाले प्राधिकरणलाई विद्युत् महसुलबापत ६ करोड ६१ लाख रुपैयाँ बाँकी रहेको कार्यालयका लेखा अधिकृत घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार त्यसपछि चाँगुनारायण मन्दिर, दत्तात्रय मन्दिर, राममन्दिर र अन्य ग्राहकबाट बक्यौता रहेको छ । शाखाको कुल ग्राहकमध्ये ७० प्रतिशत अर्थात् २५ हजारको हाराहारीमा नियमित विद्युत् महसुल उठिरहेको छ । बाँकी ३० प्रतिशतबाट महसुल उठाउन नसकिएको कार्यालयले जनाएको छ ।-राजधानी दैनिकबाट

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.