शशिभवनमा बसेर १४ लाखको घडी उपहार लिन पाइन्छ ?


काठमाडौं, २९ पुस । नेपाली सेनाका पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङका छोरा प्रवलमान सिंह गुरुङको ‘घडी’को विषयले केही समययता सामाजिक सञ्जाल र अनलाइन पोर्टलहरूमा खुबै चर्चा पायो । बाबु प्रधानसेनापति भएका बेला ललितपुरस्थित शशिभवनभित्रै उपहारमा पाएको १४ लाखको घडीका बारेमा अहिले चर्चा पनि भइरहेको छ । पदीय मर्यादाविपरित छत्रमान सिंहले आफ्ना छोरालाई त्यति ठूलो उपहार किन लिनदिए भनेर देशभरि चर्चा भइरहेको छ । राज्यले कसरी र कति उपहार दिने भन्ने विषय कानूनमा स्पष्ट तोकेको छ । प्रवलले पारिवारिक कार्यक्रममा १४ लाखको घडी घाटभटेनी सुपरमार्केटका मालिकले उपहार दिएको जनाएका छन् । यति पारिवारिक कार्यक्रममा पनि त्यति महँगो उपहार दिनु भनेका दाइजोसम्बन्धी कानून विपरित हुन्छ । शशिभवनभित्र बसेर यति ठूलो महँगो दाईजो लिने अधिकार छत्रमान र प्रवल गुरुङलाई कसले दियो ? नेपाली सेनाले यस विषयमा छानविन गर्ला ? पाँचतारे होटेलको व्यायामशालाको चेञ्जिङ रुममा नेपाली कांग्रेसका निर्वाचित सांसद रामहरि खतिवडाले १४ लाखको घडी चोरी गरेको उजुरी प्रहरीमा दिएका उनले पहिला नै किन खतिवडासँग परामर्श गरेनन् भन्ने प्रश्न पनि उब्जिएको छ । चेञ्जिङ रुपमा भएको सो घटनाका विषयमा प्रवलले सिधै खतिवडासँग ‘मेरो घडी हरायो’ भनेर परामर्श गरेको भए भइहाल्यो नि । खतिवडाले घडी आफ्नो कोटको खल्तीमा भेटिएको कुरा प्रवलका साथीलाई समयमा भनेकै रहेछन् । फेरि सांसद खतिवडा १४ लाखको घडी चोर्ने व्यक्ति हुन् त ? पक्कै होइनन् । उनलाई चिन्ने र जान्नेहरू चोरीको आरोप स्वीकार गर्न चाहँदैनन् । आफ्नै लगानीमा व्यवसाय गरिरहेका र राजनीतिक भविष्य बोकेको व्यक्तिले १४ लाखको घडी चोर्छ भन्ने कुरा विश्वास गर्न नसकिने उनका निकटका एक सांसदले बताए । १४ लाखको घडी चोरको संज्ञा पाएका सांसद खतिवडाले एकसाता मानसिक र सामाजिक तनाव व्यहोर्नु परेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गरेर प्रवलले ढिलै भए पनि सत्यतथ्य बाहिर ल्याएपछि खतिवडालाई केही भए पनि राहत भएको छ । उनले सांसद खतिवडाको कोटको खल्तीमा कसैले १४ लाखको आफ्नो घडी राखिदिएको बयान दिए पनि त्यसबाट सांसद पदको गरिमामा ठेस पुगेको छ । अब सांसद खतिवडाले आफूलाई चोरीको आरोप लगाएर बद्नाम गर्न भूमिका खेल्ने समूहलाई बाहिर ल्याउनु पर्छ । उनले प्रहरीलाई यस विषयमा छानविन गर्न अगा्रह गर्नुपर्छ । प्रवलले आफ्ना बाबु नेपाली सेनाको सर्वोच्च पदमा रहेका बेला उनले किन त्यति ठूलो मूल्यको उपहार स्वीकार गरे ? भन्ने प्रश्न आमजनतामा छ । यदि बाबु सेनापति हुँदैन थिएर सरकारी भवनभन्दा बाहिर यति महँगो उपहार लिएको भए नेपाली जनताले खासै ध्यान दिँदैन थिए होला । जंगी अड्डाको सुविधाको घरमा बसेर यस्ता महँगा सामान लिनेदिने दुबै भ्रष्टाचार भएको टिप्पणी हुन थालेका छन् । प्रहरीले अब सक्छ भने प्रवललाई १४ लाखको घडी उपहार दिने भाटभटेनी सुपमार्केटका मालिक मीनबहादुर गुरुङ र प्रवललाई कारबाहीको दायरामा ल्याउनु पर्छ । तर प्रहरीले यो विषयलाई छुने छैन ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.