एमाले त पहिलेदेखि क्लियर छ, प्रचण्डले धोका दिने हो कि भन्ने डर छः ठाकुर

काठमाडौं, २३ माघ । तमलोपा अध्यक्ष एवं मधेशी मोर्चाका शीर्ष नेता महन्थ ठाकुरले संविधान संशोधनमा सरकार उदासिन देखिएको आरोप लगाएका छन् ।
आइतबार रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा बोल्दै नेता ठाकुरले संविधान संशोधनमा प्रचण्डले अल्मल्याउने प्रयास गरिरहेको बताए । ‘यो सरकारले पनि आन्तरिक रुपमा फेरि धोका दिने हो कि भन्ने आशंका पैदा भएको छ,’ उनले भने– ‘प्रचण्डले झुक्याउँछन् कि, ढाँट्ने हो कि भन्ने लागेको छ ।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुरुदेखि नै संविधान संशोधनको विरोध गरिरहेको र उ यो विषयमा क्लियर रहको भन्दै ठाकुरले अहिले सरकारले पनि अनेक वहानाबाजी गरिरहेको आरोप लगाए ।

‘संविधान संशोधन नभएसम्म कुनै निर्वाचन हुँदैन्’

नेता ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने स्पष्ट पारे । ‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन्, पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ, संशोधन प्रस्तावमा छलफल गरेर यदि पारित भए पनि नभएपनि चुनावमा मोर्चा जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना दिवा सपना हो ।’ उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनले प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे ।
ठाकुरले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुले जस्तै आफूहरु पनि सँगै लड्दै आएको उल्लेख गर्दै भने, ‘हामी चुनावको विरोधी होइनौं, तर समस्याको समाधान नगरी गरिने कुनैपनि चुनावले देशलाई निकास दिँदैन्, त्यसैले पहिला समस्याको समाधान गर्नुपर्छ ।’
संविधान संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने चेतावनी दिँदै भने, ‘यदि यो सरकारले बलपुर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल अवस्था उत्पन्न हुन्छ ।’

‘स्थानीय तह पूनर्संरचना प्रतिवेदन कुनै हालतमा मान्दैनौं’

तमलोपा अध्यक्ष ठाकुरले स्थानीय तह पूनर्संरचना आयोगले अघि सारेको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको टिप्पणी गर्दै भने, ‘स्थानीय तहको पूनर्संरचना नै जनताको माग होईन, मन्त्रिपरिषदले गाविसलाई नगरपालिका बनाउने काम त गरिरहेको छ नि ।’
उनले स्थानीय तहको पूनर्संरचनालाई लिएर सत्तारुढ दलभित्रै पनि विवाद रहेको जिकिर गर्दै भने– ‘सरकारमै विवाद देखियो, कोहीले पूरानै अनुसार जाउँ भन्छ, कोहीले नयाँ अनुसार भन्छन् ।’ उनले यो प्रतिवेदनले जनतालाई आपसमा लडाउने काम गरेको समेत आरोप लगाए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.