आन्दोलन छोडेर गाइपालनमा तराईका युवा


वीरगन्ज – पर्साको बहुअर्वा भाठा –६, गर्दौलका मनोजकुमार ठाकुर गाउँका युवाहरुका लागि प्रेरणा बनेका छन् । १२ वर्ष स्याङजाको क्याकनीमा निम्न माध्यमिक विद्यालयमा शिक्षकको रुपमा काम गरेका ठाकुर ३ वर्षदेखि गाउँमै गरेको व्यवसायिक गाई पालनमा रमाएका छन्।
अस्थायी र करारका शिक्षकहरु २०६९ मा ‘अस्थायी शिक्षक संघर्ष समिति’ बनाएर आन्दोलनमा उत्रिँदा, ठाकुरले आफ्नो डेरा ओसार्दै स्याङजाबाट घर फर्के। कार्यरत सम्पूर्ण अस्थायी तथा करार शिक्षकहरुलाई आन्तरिक प्रक्रियाद्वारा स्थायी गुर्नुपर्ने मुख्य माग राखेर देशभर अस्थायी शिक्षकहरु आन्दोलित हुँदा यता ठाकुर पहिलेदेखि घरमा पालिएका ३ वटा गाईको गोठतिर समय बिताउन थालेका थिए। गणितका शिक्षक भएर काम गरिसकेका ठाकुरले हिसाब लगाए र व्यवसायिक गाइपालनमा भविष्य राम्रो हुन सक्ने ठम्याए। उनले ३ वर्षभित्र करिब १० लाख रुपैयाँ पुूँजी थपेर यतिखेर दर्जन जति  उन्नत जातको गाई भएको एउटा फर्म सञ्चालन गरिरहेका छन्।
‘अहिले दुध दिने ९ वटा र व्याउन आँटेका ३ वटा गाइ छन्, अनि ४ वटा बाछाबाछी,’ ठाकुरले भने, ‘औसतमा करिब ८० लिटर दूध यहाँबाट मैले उत्पादन गरेर दैनिक बेँच्ने गरेको छु।’ कौशल्य पशुपालन उद्योग दर्ता गरेर थालेको व्यवासायिक गाइपालनको आम्दनी भने उनले कारोबार वृद्धिमा लगाएका छन्। फर्ममा २ वर्षभित्र ३० वटा गाई राख्ने योजनामा काम गरिरहेका उनले वैशाखभित्र ५ वटा गाई थपिसक्ने बताए। गाइपालनबाट उत्पादित दूध, दही, र पनिर बेच्न वीरगन्जको विर्ता बजारमा उनले एउटा बिक्री केन्द्र पनि खोलेका छन्।
‘आफैकाँहा उत्पादन भएको र अरु किसानसँग किनेर दैनिक कुल १०० लिटर दूध बिक्री गरिरहका छौं,’ उनले भने, ‘केही समयभित्रै आइसक्रिमको प्लान्ट पनि सुरु गर्न लागेका छौं।’ घर नजिकैको करिक १ बिगहा जग्गामा उनले गाईको गोठ, भुस तथा दाना राख्ने भण्डार र घासवारी राखेका छन्। शिक्षाको जागिरे भएका मान्छे गाइपालनमा लागेको देखेर गाउँका अरु मानिसहरु पनि यसको अनुसरण थालेका छन्। उनले सुरु गरेयता गर्दौल गाउँमा अरु चारजनाले पनि व्यवासायिक गाई पालन सुरु गरेका छन्।
‘पढे–लेखेर किसान बन्ने होइन भन्ने बुझाई पहिले गाउँमा थियो, अब छैन,’ उनले भने, ‘स्थानीय शिक्षक विनोद राउतले भने, ‘गाईपालनमार्फत कृषिकर्मबाट मनोजजस्ता य्वा जोडिएपछि अरुलाई पनि प्रेरणा मिलेको छ।’
केही गरौं, गाउँमै अवसर खोजौं भन्ने प्रवृती बढ्न थालेको छ। यसले गाउँमा गरिबीमा कमी आउने उनको बिश्वास छ। अहिले २ जनालाई रोजगारी दिरहेका ठाकुरले निकट भविश्यमा करिब १० जनालाई रोजगारी दिने गरी योजना अघि बढाएका छन्।
आफ्नो गाई फर्ममा मनोज ठाकुर । 

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.