प्रशासन कार्यालयमा कसियो लगनगाँठो , पण्डितका रूपमा प्रमुख जिल्ला अधिकारी.....




दोलखा, नेपालीले पनि मंगलबार ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाए । दोलखामा त एक जोडी विवाह–बन्धनमै बाँधियो । त्यो पनि जिल्ला प्रशासन कार्यालयमा । न जग्गे न त मन्त्रोच्चारण नै । परम्परागत विधिविधान नभएपछि पण्डितको उपस्थिति पनि नहुने नै भयो । बरु उक्त विवाह गराइदिने पण्डितका रूपमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको भूमिका देखियो । बेहुला र बेहुलीले विवाह प्रमाणपत्रमा सहीछाप गरे । त्यहाँ उपस्थित सबैले ताली बजाए । यत्तिमै सकियो बिहे । त्यहाँ रहेका कसैले न बेहुलाबेहुलीलाई उपहार नै दिए न त भोजभतेर नै चल्यो । बेहुली थिइन्– समावेशी सगरमाथा आरोहण दलकी सदस्य पुजन आचार्य र बेहुला थिए–आदित्य कार्की । बेहुलाबेहुलीको पहिरनमा सजिएका उनीहरूलाई प्रमुख जिल्ला अधिकारी बोहोराले विवाहको प्रमाणपत्र दिएका थिए । जिल्ला प्रशासन कार्यालय बेहुला र बेहुली पक्षले भरिभराउ थियो । गौरीशंकर– ४ की आचार्यै र गैरीमुदी–१ का कार्कीले चार वर्षदेखिको प्रेमलाई मंगलबार प्रणय दिवसकै दिन विवाहमा परिणत गरेका हुन् । उनीहरू दुवै जना सगरमाथा आरोही हुन् । प्रशासन कार्यालयमा विवाहघरजस्तै रौनक छाएको थियो । विवाह–भोजमा लाग्ने खर्च बेहुलाबेहुलीले आ–आफूले अध्ययन गरेको विद्यालयलाई अक्षय कोष स्थापनाका लागि हस्तान्तरण गरे । विवाहमा लाग्ने खर्च सामाजिक काममा लगानी गर्न यस्तो उपाय अपनाएको आचार्यले बताइन् । “सबै रीतिरिवाज गर्नुपर्छ भन्ने पनि छैन”, कार्कीले भने, “नयाँ पुस्तालाई पनि खर्च कम गरेर सामाजिक क्षेत्रमा अभिप्ररित गर्न हामीले यहाँ आएर विवाह गरेका हौं ।”-कारोवार दैनिकमा खवर छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.