किन बढ्यो एकाएक ओलीको दौडधुप ?


काठमाडौ– पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीको दौडधुप एकाएक बढेको छ । गत माघ २८ गतेयता ओली दिनहुँ उच्च राजनीतिक भेटभाटमा व्यस्त बनेका छन् । प्राय सानातिना कार्यक्रम र भेटघाटलाई त्यति महत्व नदिने केपी ओलीको पछिल्लो दौडधुपलाई भने अर्थपुर्ण रुपमा हेरिएको छ ।

आफ्नो नेतृत्वको सरकार पदच्युत भएपछि बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग झण्डै पानी बाराबारको स्थितिमा पुगेका अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग पनि पछिल्लो एक सातायता, दिनहुँजसो नै भेटघाट गरिरहेका छन् ।
प्रचण्ड र उनको नेतृत्वको सरकारलाई सधैं उखान टुक्का हालेर गालिको शैलीमा सुझाव दिने केपी ओली गत शुक्रबार ललितपुरस्थित उनै माओवादी केन्द्रका नेता नारायाकाजी श्रेष्ठको घरमा एकाएक प्रधानमन्त्री प्रचण्डसँगै देखापरे । श्रेष्ठ निवासमा ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पनि पुगेका थिए ।

भेट किन र केका लागि थियो भन्ने नेताहरुले नचुहाएपनि त्यसयता ओलीको सक्रियता थप बढ्दै गएको छ । भेट चुनावको मिति घोषणा, संविधान संसोधन र राज्य पुनसर्रंचनासम्बन्धी विषयमा केन्दिैत भएको नेताहरुको दावी थियो ।
मंगलबार मात्रै ओलीले राजधानीमा महत्वपुर्ण चारवटा उच्च राजनीतिक भेटघाट गरेका छन् । मंगलबार ओलीले पार्टीको स्थायी समितिको बैठकबाहेक राष्ट्रपति, प्रधानमन्त्री र कांग्रेस सभापति शेरवहादुर देउवासँग भेटघाट गरेका छन् ।
ती भेटघाट बालुवाटार, बुढानिलकण्ठ र राष्ट्रपति निवास शीतलनिवासमा भएका हुन् । ओलीसंगका पछिल्ला भेटमा प्राय प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवा पनि सँगै रहने गरेका छन् । विगत ६ दिनको बीचमा राष्ट्रपतिसँग मात्र यी तीन नेताले दुई पटक भेटघाट गरिसकेका छन् ।
मंगलबार साँझ बालुवाटारमा बसेका प्रमुख दलका नेताहरु फेरी बुधबार बिहान पनि कसैलाई खवर नै नगरी बालुवाटार पुगे । नेताहरुको बुधबार विहानको बालुवाटार भेटघाट स्ववियु चुनावमा केन्द्रित भएको समाचारहरु आएपनि त्यसैका लागि मात्र शीर्ष नेताहरु यसरी दौडधुप गरेहोलान भनेर पत्याउँन मुस्किल पर्छ ।
नेताहरुको दौडधुप जारी रहेका बेला ओली निवास बालकोटमा मंगलबार बसेको एमाले स्थायी कमिटिको बैठकपछि एमाले नेताहरुले सरकारले चुनाव गर्न नसक्ने भए बाटो खोलिदिनु पर्ने घुमाउरो भाषा समेत प्रयोग गरेका छन् ।
बुधबार ललितपुरमा भएको एक कार्यक्रममा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भटराई र धुम्बाराहीमा अध्यक्ष ओलीले सरकारले चुनाव गर्न नसक्ने भए बाटो छोड्न आग्ह नै गरे । एमाले नेताहरुले भनेको अर्थ हो–सरकार अव कुनै हालतमा चुनावको मिति घोषणा गर्न तयार हुनुपर्छ कि त सरकार छोड्न ।
जिम्मेवार एमाले नेताहरुबाट आएको यो अभिव्यक्ति अघि प्रमुख दलका शीर्ष नेताहरुबीच केही न केही सहमति भएको छ भन्ने अनुमान लगाउन कठिन छैन । संविधान संशोधन पहिला या चुनावको मिति पहिला भनेर चर्चा र बहस भइरहेका बेला प्रमुख दलका नेताहरुको बाक्लो भेटघाट र दौडधुपले नेताहरु दुवै विषयलाई सम्बोधन गर्ने दिशामा अघि बढेका हुन् कि भन्ने सर्वसाधारणमा पनि आशा पलाउन थालेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.