महावीर पुनले गरे पदक बेच्ने घोषणा

काठमाडौं : सामाजिक अभियान्ता महावीर पुनले आफ्ना सबै पदक, तक्मा अर्थात् मेडल बिक्री गर्ने घोषणा गरेका छन्। पुनले कसैले पदक संग्रह गर्न चाहेको भए आफू बिक्री गर्न तयार भएको बताएका हुन् ।
बुधबार पुनले २५ वर्ष लामो समय समाज सेवामा सक्रिय हुँदाका सबै पदक बिक्री गर्ने घोषणा गरेका हुन् । उनले बिक्री गर्ने पदकको लिस्टमा ‘रोमन म्यागासेसे पदक’ समेत राखिएको छ ।
किन सबै पदक विक्री गर्ने घोषणा गर्नुभयो भन्ने अन्नपूर्णको प्रश्नमा पुनले भने, ‘त्यो त्यसै बसेको छ, त्यसको कुनै उपयोग आएको छैन, उपयोगी बनाउनु पर्यो, भित्तामा कोठमा राखेर केही हुँदैन, त्यसलाई उत्पादन मुलक बनाउनका निम्ति बिक्री गर्ने घोषणा गरेको हुँ ।’
उनले बिक्री गर्ने मेडलको लिस्ट नै सार्वजनिक गरेका छन्। उक्त लिस्टमा म्यागासेसे पदकसँगै राष्ट्रदीप, नेपाल सरकारबाट प्राप्त दुई मेडल, युएसएबाट प्राप्त इन्टरनेट हल फेम, युएसएबाटै प्राप्त अनर ग्राज्याजुएट युर्निभरसिटी अफ नेब्रास्का र डा. हर्क गुरुङ पर्वतीय पुरस्कारलगायत रहेका छन्।
पुनले सामाजिक सञ्जाल फेसबुकमा तक्मा अर्थात् मेडल संग्रह गर्न इच्छुकलाई सम्पर्क गर्न आग्रह गरेका छन् । ‘मैले २५ वर्षसम्म समाज सेवाको काम गर्दा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्था र नेपाल सरकारबाट समेत गरेर विभिन्न किसिमका पदक पाएको छु, ती पदक कोठाको कुनामा बसिरहेका छन्’, पुनले लेखेका छन्, ‘यदि पुराना पदकहरुको संग्रहकर्ता कोही हुनुहुन्छ र मैले पाएका पदक किनेर सुरक्षित साथ संग्रह गर्न चाहनुुन्छ भने इमेलमा सम्पर्क गर्नुहोला ।’
पुन पछिल्ला दिनमा राष्ट्रिय आविष्कार केन्द्र स्थापनामा सक्रिय भएका छन्। केन्द्र स्थापनाका लागि सरकारले सहयोग नगरेपछि उनले केही समयअघि मात्र आफ्नो सबै जग्गा बिक्री गरेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.