जेलबाट छुटेपछि अापराधिक समूहको नेतृत्व

विराटनगरः लामो समय जेल बसेर छुटेपछि मोरङको कटहरी ४ का ३४ वर्षीय कार्तिक कामतले अपराधिक समूहको नेतृत्व गर्न थालेका छन् ।
जबरजस्ती करणी मुद्दामा मोरङ कारागारमा जेल सजाय भुक्तान गरेर बाहिर निस्किएपछि अपराधिक समूह बनाएर उनले त्यसको नेतृत्व गर्न थालेको प्रहरीले पत्ता लगाएको हो । प्रहरीका अनुसार उनी नेतृत्वको समूहले गोली हान्ने र डकैती गर्नेजस्ता दर्जनौं अपराधिक घटना गराएका छन् । कामतले सबैजसो अपराधमा आफ्नो समूहको संलग्नता स्वीकार गरेका छन् । करणी मुद्दामा २०६२ साल भदौ ७ गते जिल्ला अदालत मोरङको फैसलाअनुसार १० वर्षको कैद सुनाइएका कामत २०७२ साल वैशाख ६ गते सजाय भुक्तान गरेर छुटेका थिए ।
मोरङको सोराभाग ३ मा जीवन विकास शाखा कार्यालय सोराभागका कर्मचारीमाथि गोली हानेर रकम लुटपाट गरेको घटनामा प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि उनको पुरानो आपराधिक पृष्ठभूमि बाहिर आएको हो । प्रहरीले कामतलाई सोमबार विराटनगरमा सार्वजनिक गरेको छ । ‘१० वर्ष जेल बसेपछि बाहिर निस्किएका कामत अपराधिक समूह बनाएर त्यसको नेतृत्व गर्दै हिँड्ने गरेको पाइयो,’ मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले भने, ‘जेल बसेपछि सुध्रिएर निस्कनु पर्ने व्यक्ति अपराधिक समूहको नेतृत्व गर्ने भएर निस्किएछ ।’
कामतको संलग्नता रहेको समूहले गोली हानेर रकम, सुन र चाँदीका गरगहनालगायत धनमाल लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको भण्डारीले बताए । उनको समूहले धेरै नगद र गरगहना भएका व्यक्तिको पहिचान गरेपछि सुरुमा लुट्न खोज्ने र त्यत्तिकैमा सफल नभए गोली प्रहार गरेपछि घाइते बनाएर भए पनि लुटपाट गर्ने गरेको बताउँदै एसपी भण्डारीले भने, ‘यो समूहले गोली हानेर रकम लुटेका र डकैती गरेका ठूला खालका दर्जनौं अपराधिक घटना छन् ।’ मोरङ र सुनसरीमा डेढ वर्षअघिदेखि निरन्तर भइरहेको गोली प्रहार र लुटपाटका सबै घटनामा कामत नेतृत्वकै समूहको संलग्नता रहेको दाबी प्रहरीको छ ।
प्रहरीका अुनसार कामतको संलग्नता रहेको डाँका समूहले यही माघ १२ गते गोली हानेर रंगेली नगरपालिका ११ घर भएका जीवन विकास कर्सियाका फिल्ड सहायक ३७ वर्षीय घनश्याम बहरदारका साथमा रहेको दुई लाख रुपैयाँ लुटेको थियो । को १९ प १८५१ नम्बरको मोटरसाइकलमा सवार बहरदारमाथि विराटनगर रंगेली सडकखण्डको गदिया पुलमा को २० प ४८३५ र भारतीय नम्बर प्लेटको बीआर ३८ ई ३५३८ नम्बरको दुईवटा मोटरसाइकलमा आएको समूहले गोली हानेर रकम लुटेको थियो । दायाँ तिघ्रामा गोली लागेर बहरदार घाइते भएका थिए । घटनामा संलग्न अन्य चारजना फरार भए पनि कामतलाई भने प्रहरीले तत्काल स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरेको थियो ।
सोही घटनामा संलग्न मोरङको टंकीसिनवारी ७ का ३४ वर्षीय सञ्जय भनिने श्रवण सरदार, नोचा ३ का २७ वर्षीय सतन पासवान र इटहरी उपमहानगरपालिका १३ का ३९ वर्षीय सुवालाल सरदारलाई प्रहरीको क्षेत्रीय अनुसन्धान समूह, सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले माघ १७ गते सुनसरीको खनारबाट पक्राउ गरेको छ । दोहोरो गोली हानाहानका क्रममा पक्राउ परेका तीनैजना प्रहरीको गोली लागेर घाइते भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना अझै फरार छन् ।
२०७२ साल कात्तिक २८ गते मोरङको बैजनाथपुर ४ मा भौंडाहा १ का २० वर्षीय राजेशकुमार रायको को १७ प ७४६९ नम्बरको मोटरसाइकल, स्यामसुङ ग्यालेक्सी मोबाइल, पाँच तोलाको चाँदीको ब्रासलेट र १४ हजार रुपैयाँ नगद र ०७२ मंसिर ८ गते मोरङको कोसीहरैंचा नगरपालिका ४ मा स्कुटरमा सवार महिलाका साथबाट नगद र सुनचाँदीका गरगहना गरेर १२ लाख ६५ हजार पाँच सय रुपैयाँको धनमाल लुटपाट गरेको घटनामा यही समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै विराटनगर १९ मा गोली हानेर गत पुस १८ गते मनी चेन्जर सञ्चालक विराटनगर १९ का ४० वर्षीय बटेशकुमार साहको साथमा रहेको चार लाख रुपैयाँ नगद लुटपाट गरेको र पुस २३ गते सुनसरीको इटहरी १९ एकम्बास्थित झुम्का नहर छेउमा स्थानीय २६ वर्षीय भविशेष चौधरीलाई गोली हानेर घाइते बनाएको लगायतका दर्जनौं घटनामा पनि संलग्नता रहेको एसपी भण्डारीले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.